Sunday 3 July 2011

को भन्न सक्छ ?

नीलो  छ आकाश
तारा हजारौं
भन लौ तिमी
को गन्न सक्छ ?
झरेर त्यति नै
टुक्रा मुटुका
न आज
को भन्न सक्छ ?


उठेको छ हिमाल
पग्लेर जान्छ भएर पानी
बिछोड़ मात्र हो कि !
यो जिन्दगानी ।

सागर भएन
आँसु झरेर
भन लौ तिमी
को भन्न सक्छ ?
उत्ताल सागर
किनार छुन
किन छल्कँदैछ ?

लागे सरि
वनमा डढेलो
भित्रभित्र मन यो
किन सल्कँदैछ ?
सागर तिमी हौ
म हुँ किनारा
होइन कसले
अझ भन्न सक्छ ?

जति भाव पोख्छु
कथा हुन्छ आफ्नै
जति गीत लेख्छु
व्यथा हुन्छ आफ्नै
यहि कथामा
यहि व्यथामा
तिमी छैनौ भनेर
को भन्न सक्छ ?

जति जोड़न खोज्छु
उति विच्छिन्न हुन्छ
जति आफ्नो भन्छु
उति भिन्न हुन्छ
मुहारमा तिम्रो
किन मुस्कान छैन?
लगिन मैले
को भन्न  सक्छ ?

संगै हिँड़्ने बाटो भिरालो भएछ
अहिले फेरि आइ भँगालो भएछ
मिल्दैन कुनै दिन भएर दोभान
भन लौ तिमी
को भन्न सक्छ ?

Friday 1 July 2011

तिम्रो नाममा एउटा कविता

कसरी भनुँ
अब तिमीमा
मेरो
कुनै विश्वास छैन ।

भन्न सक्तिन,
गईसक्यौ तिमी
अब कतै
कुनै
आश छैन ।



कसरी भनुँ
तिम्रो सम्झनामा
मन मेरो
उदास छैन ।

हेर प्रिये,
कविता त केवल
हो बहाना....
भन्छ  कसले
मनमा
कुनै सन्त्रास छैन ।

बाहिर
व्यग्रता छ,
भित्र
वेदना छ,
आँखामा आँसु
के हृदयमा
कुनै उच्छ्वास  छैन ?

तिम्रो अँगालोमा


जीवन,
कहिले उकालो हुन्छ ।
कहिले ओह्रालो हुन्छ ।
यो,
कहिले दोभान.....
कहिले भँगालो  हुन्छ ।

तर
उकालोमा होस
कि ओह्रालोमा
,
तिमीसितै हुन्छु ।
तिमीसित
हिँड़्दा हिँड़्दै
कहिले दोभानमा...
कहिले भँगालोमा हुन्छु ।

तर
जहिले पनि, जता पनि
सधैं,
श्रृँखलावद्ध हिमाल जस्तै
तिम्रै,
अँगालोमा हुन्छु ।

Thursday 30 June 2011

पोखरीका रङ बिरंगी माछाहरु


मेरा भावना
तिम्रो चरित्र जस्तै
स्वच्छ, निर्मल र पवित्र
सङ्लो पानीले भरिएको
यो पोखरीमा
कहाँ-कहाँबाट पस्छन्
यी गन्धे माछाहरू......?
ल्याउँछन्
भल,
बाढी
बर्खे भेलले बगाएर,
बस्छन्,
पोखरीका डिलडिलमा
उम्रिएका
झारपात,
हिलो,मैलो लेउ खाएर ।

कहाँ कहाँबाट आउँछन्,दुषित पार्न पोखरी-
यी असला.बुदुना र कत्ले
चित्र-विचित्रका
रंगविरंगी  माछाहरू ।
म जान्दछु ,तिम्रो मन
खोला होइन ।
यो पोखरी जस्तै
सीमावद्ध छ ।
यो
कहिले भँगालिदैन ।
म जान्दछु,
अहिले पनि
यो भँगालिएको छैन ।
तर....
पोखरीको धमिलो पानी जस्तै
मेरो मन भने
किन हो किन
अझ
सँगालिएको छैन ।

माटोको सृजना

फूल भएर जन्मिनै
भूल गरेछु !
मुटु भित्रै
सुकाएर कामना,
हृदय भित्रै
लुकाएर भावना,
म फेरि माटोमै झरेछु....
फूल भएर जन्मिनै भूल गरेछु
कसैको श्रृंगारले
मन मेरो लियो कि !

कसैको केशमा
 
अल्झिने मन थियो कि !
सुहागरातको सजावट बनेर
या फूलदानीमै सजेर
प्रिया रिझाउने जीवन थियो कि ।
बाहिर म हाँस्थें,
हृदय प्यासा थियो कि !

आशा थियो कि,
अभिलाषा थियो कि !
सोधेन कसैले
काँडामाथि सजिएर
किन मुस्काऩ छरेंछु ?
फूल भएर जन्मिनै भूल गरेछु ।